प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत, राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय सिग्देल, लेखा अधिकृत/राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी, आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार नगरपालिकाले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको गरेको देखिएको छ ।

चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री/मरधर ठेक्का आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी नगराई पन्ध्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उक्त कसुरमा संलग्न प्रतिवादीहरू उपर पन्ध्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबर बराबरको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस