एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले नै विवादित बनायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले नै विवादित बनायो


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा दुई जनालाई जिम्मेवारी दिएको छ । मन्त्रालयले रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा दुई जनालाई जिम्मेवारी दिएको हो ।

मन्त्रालयले उपसचिव सुरेन्द्र प्रधान र नगरपालिकाकै अधिकृत रासनारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । प्रधानलाई गत असोज २६ गते र पटेललाई यही कार्तिक १ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । 

मन्त्रालयका शाखा अधिकृत विकास सुन्दासको हस्ताक्षर रहेको पत्रमा रौतहटको फतुवाविजयपुर नगरपालिकामा कार्यरत सुरेन्द्र प्रधानलाई कार्यरत पालिकाको काममा बाधा नपर्ने गरी वृन्दावन नगरपालिकामा सम्पादन गर्नुपर्ने कामकाजमा सहजीकरण गर्न आर्थिक तथा प्रशासनिक कार्य सहितको जिम्मेवारी दिइएको उल्लेख छ । 

यसैगरी मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलको हस्ताक्षर रहेको पत्रमा पालिकामै कार्यरत रासनारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि बढीमा दुई महिनाको लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको उल्लेख छ ।

प्रधानलाई असोज २६ मा जिम्मेवारी तोकिए पनि पटेलले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने बेलासम्म उनी पालिकामा हाजिर भएका थिएनन् । पालिका प्रमुख विनोद प्रसाद कुर्मी बाहिर भएका कारण प्रधानले हाजिर गर्ने मौका नपाएको दाबी गरिएको छ । 

उपप्रमुख संगीता कुमारी रामका अनुसार प्रमुखले प्रधानलाई हाजिर गराउन नचाहेको आरोप लगाइन् । ‘नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने मनसाय मेयरको थिएन । हाजिर आज गराउँछु, भोलि गराउँछु भन्दै अल्झाउनु भयो ।’ उनले भनिन्, ‘आफन्तलाई निमित्त दिने र आफू अनुकूल काम गराउने चाहना मेयर सा’बको छ । उपसचिव आयो भने नियम कानुन अनुसार काम गर्छ भन्ने डर पनि उहाँमा छ ।’ तर, नगरपालिकाका प्रमुख कुर्मीले प्रधान हाजिर हुन नआएपछि पालिकाको रोहवरमा पटेललाई जिम्मेवारी तोकिएको हो । प्रधानले पालिकालाई बदनाम गराउन खोजेको उनको आरोप छ । 

‘उहाँसँग असोज २६ गतेको पत्र छ । तर, कार्तिक १ गतेसम्म पालिकामा हाजिर हुन आउनु भएन । उहाँ नआएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत खोज्नु परेको हो ।’ उनले भने, ‘अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याएपछि उहाँ विवाद झिक्न आउनु भयो ।’ प्रधानलाई पालिकाको सहमति नभएकाले उनले काम गर्न नसक्ने प्रमुख कुर्मीले बताए । 

नगरप्रमुखले नै नचाहेपछि आफू वृन्दावनमा नजाने उपसचिव सुरेन्द्र प्रधानले जानकारी दिए । तर, मन्त्रालयले उनको जिम्मेवारी रद्द भने गरेको छैन । यता, रासनारायण पटेलले आफूलाई पालिकाको समर्थमा निमित्तको जिम्मेवारी दिइएको बताए । उनले भने, ‘उपसचिव जस्तो कर्मचारीले पालिकाको समर्थन नै नभएको स्थानमा काम गर्न सहज हुँदैन र राम्रो पनि हुँदैन ।’

मन्त्रालयले एउटै पदमा दुई अधिकृतलाई जिम्मेवारी तोकेर पठाएपछि वृन्दावनमा विवाद देखिएको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रधान र पटेल दुवै जना हाजिर भएपछि विवाद भएको हो । पटेलले प्रमुख कुर्मी र प्रधानले उपप्रमुख रामको रोहबरमा हाजिर गरेका हुन् ।

मन्त्रालयले नगरपालिकामै कार्यरत नेपाल स्वास्थ्य सेवा, हेल्थ इस्पेक्सन समूह अधिकृतस्तर छैटौँ तहका रासनारायण पटेललाई वृन्दावन नगरपालिकाको असोज १८ गतेको नगर कार्यपालिकाको निर्णयसहितको पत्र अनुसार दुई महिनाको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएको जनाएको छ । असोज १८ को पत्रलाई आधार मानेर निमित्त तोकेको मन्त्रालयले असोज २६ मा सुरेन्द्र प्रधानलाई वृन्दावनको प्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी कसरी दियो ? यसबाट के स्पष्ट हुन्छ भने मन्त्रालयबाट हुने सरुवा वा थप जिम्मेवारी सम्बन्धमा समन्वयको अभाव छ ।

विवादपछि खाता रोक्का

निमित्तको जिम्मेवारी पाएका रासनारायण पटेलले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खाता सञ्चालनको अनुमति लिएर कर्मचारीलाई तलबसमेत खुवाएका छन् । साउनदेखि रोकिएको तलब खुवाएको पटेलले जानकारी दिए । 

पटेललाई जिम्मेवारी दिएको पत्र प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता सञ्चालनको स्वीकृत दिएको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख राजन कुमार फुयाँलले जानकारी दिए । नगरपालिकाका प्रमुख पत्रसहित आएपछि कार्तिक ३ गते खाता सञ्चालनको स्वीकृत दिएको फुयाँलले बताए । तर, प्रधान वृन्दावनको प्रमुख प्रशासकीय अधिकृत भएको बारेमा कुनै आधिकारी जानकारी प्राप्त नभएको फुयाँलले जानकारी दिए । 

पटेलको नाममा खाता सञ्चालनमा आएको विषयमा दबाब आएपछि कोलेनिकाले उनको खाता अहिले रोक्का गरेको छ । प्रधान र पटेल दुवै जनाले खाता सञ्चालनको दाबी गरेपछि विवाद भएको थियो । विवाद आएपछि दुवैको खाता बन्द गरेको र यसबारे मन्त्रालयमा जानकारी गराएको कोलनिका प्रमुख फुयाँलले बताए ।

प्रमुख प्रशासकीय अधिकृत को ? भन्नेमा अन्योल

फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत को ? भन्नेमा अन्योल छ । मन्त्रालयले असोज २६ मा उपसचिव सुरेन्द्र प्रधानलाई जिम्मेवारी दिएर पठाए पनि उनलाई त्यहाँ हाजिर गर्न दिइएको छैन । 

पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत हंसराज कुमार यादवले दसैँपछि एक दिन कार्यालय खुले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नआएको जानकारी दिए । पालिकामा लागेको ताला २२ दिनपछि शुक्रबार खुलेको छ । कार्यालय खुले पनि काम गर्ने वातावरण नभएको बताइएको छ ।

नगर उपप्रमुख अमबेय खातुन र अन्य जनप्रति बिचको टकरावका कारण प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नपाएको स्रोतले बतायो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका प्रधानले आफू कार्यभार सम्हाल्न तयार भए पनि पालिकाको आन्तरिक विवादका कारण काम रोकिएको बताए । पत्रकार सम्मेलन गरेर मात्र प्रधानलाई खाता सञ्चालनको जिम्मेवारी दिने तयारी जनप्रतिनिधिहरूले गरेका छन् । 

विवादित बनाइए प्रधान !

सरकारका सचिवहरू बरन्डामा बसेको त सुनिएको थियो नै, पछिल्लो समय पालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि बरन्डामा बस्नु पर्ने अवस्था आएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन अनुसार सरुवा नगर्दा र आफ्नो निर्णयमा अडिग रहन नसक्दा यो अवस्था सिर्जना भएको हो । जसको उदाहरण उपसचिव सुरेन्द्र प्रधानको सरुवालाई लिन सकिन्छ । मन्त्रालयकै कारण उनी अहिले बरन्डामा पुगेका छन् ।

सर्लाहीको हरिवन नगरपालिकामा कार्यरत प्रधानलाई मन्त्रालयले गत असोज २६ मा फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दियो । सोही दिन नै उनलाई वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको काम गर्ने गरी थप जिम्मेवारी पनि दिइयो । तर, जुन पालिकामा उनलाई खटाइएको थियो ती दुवै पालिका विवाद रहित थिएनन् ।

स्रोतका अनुसार फतुवा विजयपुरमा झण्डै तीन सातादेखि ताला लागेको थियो भने वृन्दावनमा आफन्तलाई नै निमित्तमा टिकाइ राख्ने खेल भइरहेको थियो । जसको सिकार प्रधान बने । 

प्रधानले अहिले आफूलाई जिम्मेवारी दिएका फतुवा विजयपुर र वृन्दावन दुवै पालिकामा कार्यभार सम्हाल्न पाएका छैनन् । उनी अब वृन्दावन नजाने मनस्थितिमा छन् । फतुवा वियपुरमा पनि पत्रकार सम्मेलन गरेर मात्र काम गर्न दिने भने पछि उनी त्यसको पर्खाइमा छन् । प्रधानले भने, ‘कर्मचारीले कानुन अनुसार काम गर्ने हो । तर, मलाई विवादित बनाउने काम भयो ।’

स्थानीय तहका जनप्रतिनिधिको एसम्यान नबन्दा र कर्मचारीहरूको राजनीतिक मोहका कारण यो खालको अवस्था देखिन थालेको हो । यसबारेमा बुझ्न खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईको फोन उठेन ।

त्यसो त पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साह नै आइपरेका समस्या सुल्झाउने भन्दा नभएका समस्या खडा गरेर बिथोलाउने ध्याउन्नमा छिन् । कर्मचारी खटनपटनमै राजनीति गर्न खोज्दा र आर्थिक लाभ लिन खोज्दा समस्या देखिएको मन्त्रालय स्रोत बताउँछ । 

सम्बन्धित समाचार : सचिव छलेर उपसचिवको सरुवा, निमित्तबाट फेरिए उपत्यकाका प्रमुख प्रशासकीय अधिकृत

सम्बन्धित समाचार : जिम्मेवारीबाट भाग्दै सामान्य, सचिवले गर्न सक्ने निर्णय मन्त्रिपरिषद् देखाएर पन्छिँदै मन्त्री

सम्बन्धित समाचार : भएका प्रमुख प्रशासकीय अधिकृत तानेर छेउछाउबाट काम चलाऊ जिम्मेवारी

मन्त्रालयकै अक्षमताले दसैँ जस्तो चाँडबाँडका बेलासमेत कतिपय स्थानीय तहका कर्मचारीले तलबसमेत खान पाएनन् । आफ्नो जिम्मेवारी अरु नै मन्त्रालयका मन्त्री तथा जनप्रतिनिधि देखाउँदै पन्छिने मन्त्रीको बानीले आजित बनेका छन् जनप्रतिनिधिहरू । 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत खोज्दै बित्यो ६ महिना, सरुवामा मन्त्रीले हस्तक्षेप गरेको आरोप 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतको सरुवामा सामान्यको खेलाँची : चार दिनमै खोस्यो जिम्मेवारी 

सम्बन्धित समाचार : मेयरको आक्रोश : पालिकामा तालाबन्दी गर्नुपर्ने स्थिति आयो, अप्रिय घटना घटे मन्त्री र सचिव जिम्मेवार

सम्बन्धित समाचार : हरिपूर्वाका जनप्रतिनिधि सिंहदरवारमा : भन्छन्– प्रमुख प्रशासकीय अधिकृत नलिई नर्फिदैनौं

Tags :
प्रतिक्रिया दिनुहोस