प्रमुख प्रशासकीय अधिकृत खोज्दै बित्यो ६ महिना, सरुवामा मन्त्रीले हस्तक्षेप गरेको आरोप  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रमुख प्रशासकीय अधिकृत खोज्दै बित्यो ६ महिना, सरुवामा मन्त्रीले हस्तक्षेप गरेको आरोप 


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । सर्लाहीको हरिपूर्वा नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत नटिक्दा नगरपालिका प्रशासनिक नेतृत्व विहीन बनेको हो । 

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएका पनि बिच बाटोबाटै सरुवा भएपछि नगरपालिका प्रशासनिक नेतृत्व विहीन बनेको हो । पछिल्लो ६ महिनादेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । 

एक महिनामा तीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा

एक महिनाको अवधिमा नगरपालिकामा तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । २०७८ चैत्रदेखि नै पालिकाले नियमित रूपमा प्रशासनिक नेतृत्व पाउन सकेको छैन । २०७८ चैत्र १४ मा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालले २०७९ भदौ १ सम्म बसेका थिए । त्यसपछि २०७९ भदौ ५ मा मन्त्रालयले वसन्त न्यौपानेलाई पठायो । वसन्त न्यौपाने पनि लामो समय नगरपालिकामा बसेनन् । उनी पनि २०७९ चैत्र १५ मा धनुषाको मिथिला नगरपालिकामा सरुवा भए । तालाबन्दी हुँदा रहेका न्यौपाने सरुवा गराएर मिथिला नगरपालिका गएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत लामो समय नटिक्ने मात्र होइन, नगरपालिकामा हाजिर हुन नपाउँदै बिच बाटोबाटै सरुवा हुने गरेको छ । विडम्बना प्रमुख प्रशासकीय अधिकृतको अभाव झेली रहेको हरिपूर्वा खटाइएका प्रमुख प्रशासकीय अधिकृतको बिच बाटोबाटै सरुवा हुने गरेको छ । 

२०७९ चैत्र २२ मा सरुवा भएका ध्रुवराज आचार्य कार्यालयमा हाजिर नै हुन नपाई बाटोबाटै २०७९ चैत्र २९ गते फिर्ता बोलाइए । यसैगरी २०८० वैशाख १४ मा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा शम्भु प्रसाद यादवलाई खटाइयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १४ मा मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शाखा अधिकृत यादवलाई हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो । यादव पनि कार्यालयमा हाजिर भएकै दिन सरुवा भए । उनी वैशाख १७ मा कार्यालयमा हाजिर भएकै दिन सरुवा भएका हुन् ।

यसैगरी २०८० वैशाख २४ मा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पालिका पठाइएका निमेष मिश्र असार १० मा हाजिर भए । उनी पनि त्यहाँ धेरै दिन बसेनन् । असार २० को कार्यपालिकाको बैठकमा सहभागी भएका मिश्र असार २९ मा गर्नुपर्ने नगर सभा हुनु अगावै निस्किए । नगरप्रमुख विनोद कुमार साहका अनुसार कुनै जानकारी नै नगराई बिदामा बसेका मिश्र भदौ ५ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सरुवा भए । यसबारे बुझ्दा मिश्रले पालिकालाई जानकारी दिएर नै आफू सरुवा भएको बताए ।

नगर सभा गराउने गरी आफू अघि बढेको भए पनि पालिकामा त्यो खालको वातावरण नबनेको उनले बताए । ‘चार महिनादेखि लागेको ताला असार १० मा मैले खुलाएको हो । नगर सभा गराउनका लागि पहल गरेको थिएँ । तर, त्यो वातावरण बन्न सकेन,’ मिश्रले भने । 

कर्मचारी भन्छन्, ‘मन्त्रालयले खटाएको कर्मचारीलाई पालिकामा टिक्न दिइँदैन । सरकारले खटाएको भन्दा पनि आफू अनुकूलको कर्मचारी खोज्दा समस्या भएको हो ।’

विकास निर्माण ठप्प

जनप्रतिनिधि र दलका नेताबिचको द्वन्द्वले नगरपालिकाको कार्यालयमा लामो समय तालाबन्दी भयो । राजनीतिक द्वन्द्वका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा विकास निर्माणका काम ठप्प भएको हो । 

नगरपालिकाको कार्यालयमा करिब ४ महिना तालाबन्दी भएको थियो । जनप्रतिनिधि र राजनीतिक दलका नेता बिचको विवादले तालाबन्दी हुँदा कर्मचारी पनि नगरपालिकामा जान मान्दैनन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गत आर्थिक वर्षको करिब १४ करोड रुपैयाँ फ्रिज भएको छ । यसैगरी चालू आर्थिक वर्षमा पनि संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानमा आउने बजेट नआउने करिब निश्चित जस्तै छ । 

चालू आवमा पनि सर्शतको अनुदानमा आउने १६ करोड फ्रिज हुने देखिएको हो । असोज महिनासम्म टेन्डर गर्न नसके चालू आवको सशर्त अनुदानको बजेट नआउने नगरप्रमुख साहले बताए । पालिकामा विगत ३ वर्षदेखिको भुक्तानी बाँकी छ । 

सिंहदरवार धाउँदै प्रमुख

प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै नगरप्रमुख साह सिंहदरबार धाइरहेका छन् । साहले साउन २३ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षणका लागि निवेदन नै दिएका छन् । तर, यसको सुनुवाइ अझै भएको छैन ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत ल्याउनका लागि धेरै पटक पहल गरेको बताए । ‘पालिकाका प्रमुख, जनप्रतिनिधि र त्यस क्षेत्रका संघीय सांसद फरक फरक राजनीतिक दलबाट निर्वाचित भएको हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू एक आपसमा एक अर्कालाई असफल बनाउने प्रयत्नमा लाग्नु भएको जस्तो देखिन्छ ।’ खानेपानी मन्त्री महिन्द्रा राय यादवको क्वाटरमा समेत गएर यसबारेमा कुरा गरेका तर, समाधान निकाल्न नसकिएको सिंहले बताए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने विषयमा मन्त्रालयले पहल गरिरहेको जानकारी दिइन् । उनका अनुसार एक साताभित्र हरिपूर्वालगायत रिक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने गरी कार्य भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत लैजाने बारे नगरप्रमुख र खानेपानी मन्त्री महिन्द्रा राय यादव बिचको टस्सलका कारण समस्या भएको जानकारहरू बताउँछन् । हरिपूर्वा मन्त्री यादवको निर्वाचन क्षेत्र पनि हो । खानेपानी मन्त्री यादवले हस्तक्षेप गरेका कारण नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत नपाएको नगरप्रमुख साहको आरोप छ । पालिकाबाट सरुवा भएर गएका कर्मचारीहरू भने उक्त आरोप निराधार भएको बताउँछन् ।

यस्तै यस्तै आरोप प्रत्यारोपका बिच गुज्रिरहेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृतकै कारण दैनिक कामकारबाही रोकिनु विडम्बना हो । तालुक मन्त्रालयका हिसाबले संघीय मामिला तथा सामान्य प्रशासनले महिनौँसम्म तालाबन्दी गर्ने र राजनीतिक खिचातानीले जनताको सेवा तथा विकास रोक्ने कार्यलाई हस्तक्षेप गर्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस