राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नुपर्छ : दुर्गा राई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नुपर्छ : दुर्गा राई


१ कार्तिक २०८०, बुधबार


मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ। दश वर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ। गणतन्त्र स्थापनापछि तीन वटा निर्वाचन सम्पन्न भइसकेका छन्। तर, हाम्रो संसदीय अभ्यास र सोच अझै पनि राजतन्त्रकालीन अवस्थाको रहेको भन्दै सदनमा बारम्बार आवाज उठ्ने गरेको छ।

सदनमा सांसदहरूले संसदीय अभ्यासलाई अहिलेको व्यवस्था अनुकूल चलाइनुपर्छ भनेर आवाज उठाइरहँदा विकृति संसदीय अभ्यासले ‘परम्परा’का नाममा निरन्तरता पाइरहेको देखिन्छ। नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राई पुरानो अभ्यासलाई यथास्थितिमा अगाडि बढ्दा प्रभावकारी काम गर्न नसकिने दाबी गर्छिन्।

राजतन्त्रकालीन संसदीय अभ्यास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसदीय अभ्यास एकै हुन नसक्ने उनको भनाइ छ।

‘हाम्रो संसदीय अभ्यासमा सुधार गर्दै जानुपर्छ। कमीकमजोरी सुधारेर अगाडि बढ्नुपर्छ’, सांसद राई भन्छिन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउन, सङ्घीयता कार्यान्वयन तथा गणतन्त्रलाई संस्थागत गर्न सबैको ध्यान जानुपर्छ। नराम्रा संसदीय अभ्यासलाई सुधार्दै अगाडि बढ्नुपर्छ।’

संसद् अवरुद्ध गर्नु नपर्ने विषयलाई लिएर पनि सदन अवरुद्ध भइरहेको उल्लेख गर्दै उनले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने तथा गलत कामको खबरदारी गर्नुपर्नेमा त्यसो हुन नसकेको बताइन्।

‘सरकारले राम्रो काम गरिरहेको छ, तर दलीय स्वार्थका कारणले संसद् अवरुद्ध भइरहेको छ। प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्छ’, सांसद राईले भनिन्, ‘प्रतिपक्ष जो पनि हुन सक्छ। आज एउटा पार्टी सत्तामा छ। भोलि अर्को पार्टी सत्तामा हुन सक्छ। प्रतिपक्षी रचनात्मक र सिर्जनात्मक हुनुपर्छ, राम्रा काममा समर्थन र गलत कामको खबरदारी गर्नुपर्छ।’

सदनमा धारणा राख्ने क्रममा कतिपय अवस्थामा असीमित समय दिँदा समयको दुरुपयोग भइरहेकोतर्फ उनले बारम्बार आवाज उठाउँदै आएकी छन्। पूर्व प्रधानमन्त्री भइसकेका सांसदलाई सदनमा असीमित समय दिइएको विषयमा सांसदहरूले बारम्बार सभामुखको ध्यानाकर्षण गराइरहेको देखिन्छ।

सांसद राई कानुन निर्माणसँगै जनताको आशा र अपेक्षा पूरा गर्न ध्यान दिनुपर्ने भएकाले सांसदको दोहोरो भूमिका रहेको बताउँछिन्। सङ्घीय सांसद भएको हुनाले निश्चय रूपमा आफूहरूको भूमिका कानुन निर्माणमै केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

‘सांसद जनतासँग प्रत्यक्ष जोडिने भएको हुनाले जनताको समस्या तथा आशा, अपेक्षा पनि पूरा गर्नुपर्ने हुन्छ। सांसदहरू दोहोरो भूमिकामै रहन आवश्यक हुन्छ’, उनी भन्छिन्, ‘सदनमा दर्ता भएका विधेयक संशोधन गर्दै त्यसलाई उत्कृष्ट बनाउन भूमिका खेल्नुपर्ने हुन्छ। जनतासँग प्रत्यक्ष जोडिएर विकास निर्माणमा पनि ध्यान दिनुपर्ने हुन्छ, जनतासँग नजोडिएको अवस्थामा जनता असन्तुष्ट हुने भएकाले दुवै काममा सांसद सक्रिय हुनुपर्छ।’

सङ्घीयता कार्यान्वयनमा बाधा सिर्जना गर्ने प्रवृत्ति देखिएको सांसद राईको ठम्याइ छ। ‘संसदमा प्रतिनिधित्व गर्ने दलहरूमा पनि सङ्घीयतालाई लिएर फरक बुझाइ छ। सङ्घीयता कार्यान्वयन नहोस् भन्ने दलको पनि सदनमा उपस्थिति छ’, उनले भनिन्, ‘सङ्घीयता कार्यान्वयन गर्ने ठाउँमा हामीलाई जटिलता छ। तर मुलुक कुनै पनि हालतमा पछाडि फर्कँदैन। पछाडि फर्केर गन्तव्यमा पुगिँदैन। पूर्ण रूपमा सङ्घीयता कार्यान्वयन हुन्छ।’

नेकपा (माओवादी केन्द्र) की सांसद राई शान्ति प्रक्रियाका बाँकी कामलाई जति सक्दो छिटो निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिन्छिन्। शान्ति सम्झौता भएको लामो समय भइसक्दा पनि निष्कर्षमा पुग्न नसक्नु विगतका सरकारको कमजोरी भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन काम गरिरहेको बताइन्।

विसं २०१९ कात्तिक २७ गते भोजपुरको टेम्केमैयुङमा जन्मिएकी सांसद राई २०३५ सालदेखि राजनीतिमा आबद्ध भएकी थिइन्। उनी चौथो महाधिवेशनको विद्यार्थी सङ्गठन छैटौँमा २०३५ सालदेखि संलग्न, २०३८ सालमा चौथो महाधिवेशन पार्टी सदस्यता प्राप्त, २०४२ सालपछि मसाल, एकता केन्द्र हुँदै माओवादी सेल कमिटीदेखि राजनीतिक समितिसम्म आबद्ध भइन्। उनी हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेकी छन्।

“शान्ति सम्झौता सम्पन्न भएको डेढ दशक नाघिसकेको छ, तर शान्ति प्रक्रियाका केही काम अझै बाँकी छन्। सङ्क्रमणकालीन न्यायको विषय अगाडिका सरकारले नै टुङ्ग्याउनुपर्ने थियो। वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन सबै राजनीतिक दलसँग छलफल गरिरहेको छ। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रक्रियामा छ। सरकार र संसद्ले शान्ति प्रक्रियाका कामलाई तत्काल निष्कर्षमा पुर्‍याउनुपर्छ’, उनले भनिन्।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुगे मात्रै मुलुक स्थिर शान्तिको बाटोमा अगाडि बढ्ने सांसद राईको भनाइ छ। “एउटा पार्टी, अर्को पार्टी भन्नेभन्दा पनि समग्र मुलुकलाई दिगो शान्तिको बाटोमा अगाडि बढाउन शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सरकार र सांसदको पहिलो जिम्मेवारी हुनुपर्छ।

अहिलेको संसद्को पहिलो काम नै शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने हुनपर्छ’, उनले भनिन्।, ‘आफ्नो अनुकूलता अनुसार शान्ति प्रक्रियालाई बिथोल्ने, बल्झाउने काम भयो भने मुलुकले समृद्धि हासिल गर्न ढिला हुन्छ। सरकार र संसद्ले यस विषयलाई गम्भीर रूपमा ध्यान दिनुपर्छ, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुको विकल्प छैन।’

सांसद राईले दसैँ, तिहार, नेपाल संवत्, छठ, उधौली, ल्होसार लगायत राष्ट्रिय पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरिन्। ‘देश र जनताको पक्षमा राम्रा काम गर्न राष्ट्रिय पर्वले प्रेरणा देओस्, मुलुक दीर्घकालीन शान्तिको बाटोमा अगाडि बढोस्’, उनले भनिन्।

Tags :
प्रतिक्रिया दिनुहोस