वडाध्यक्षद्वारा भरतपुरको कार्यपालिका बैठक बहिष्कार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वडाध्यक्षद्वारा भरतपुरको कार्यपालिका बैठक बहिष्कार


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ। चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेका छन् ।

आज शुक्रबार बस्ने भनिएको कार्यपालिकाको ८६ औँ बैठक उनीहरूले बहिष्कार गरेका हुन् ।

भरतपुर महानगपालिका बडा नम्बर ३ मा रहेको लायन्स क्लब अफ चित्रवनले अस्पताल चलाउने प्रयोजनका लागि लिएको जग्गामा बनेको भवन बालकुमारी कलेजले भोगचलन गरेपछि महानगरले हटाएको विषयलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेको जनाएका छन् ।

काँग्रेसबाट निर्वाचित वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले महानगर बैठकले सार्वजनिक जग्गामा बनेका संरचना सबै हटाउने निर्णय गरे पनि अन्यत्र नहटाएर बालकुमारी कलेजले उपयोग गरेको भवन मात्रै खाली गरेको आरोप लगाए ।

मेयरले मनपरी ढङ्गले २१ जना कार्यकर्ता भर्ती गरेको, भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारमा आफ्नो मात्रै गुणगान गाएकोले बैठक बहिष्कार गरिएको उनले बताए । मेयरले समितिहरू बनाउँदा पनि एकलौटी गरेको काँग्रेसका वडाध्यक्षहरूको आरोप छ ।

नगरप्रमुखका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले भने काँग्रेसका वडाध्यक्षसहितको ८०औँ बैठकले कलेजले गैरकानुनी रूपमा चलाएको भवन खाली गर्ने निर्णय गरेको भन्दै अहिले यसलाई अनावश्यक ढङ्गले विवादमा ल्याइएको बताए ।

महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ । केही दिन अगाडि नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्षसहितका पदाधिकारी माओवादीमा प्रवेश गरेपछि काँग्रेस रिसाएको स्रोतको भनाइ छ

Tags :
प्रतिक्रिया दिनुहोस