अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको मात्रै होइन : गभर्नर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको मात्रै होइन : गभर्नर


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको मात्रै भएको भाष्य निर्माण गरिँदा चुनौती बढेको बताएका छन् ।

मंगलबार गभर्नर अधिकारीलाई भेट्न गएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का प्रतिनिधिसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र बैङ्कप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको बताए ।

तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको उनले औँल्याए ।

गभर्नर अधिकारीले बाह्य क्षेत्रका सूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किँदै गरेको बताए ।

उनले आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्कनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने बताए ।

छलफलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियरुपमा देखा परेका सङ्कटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति उनले चासो व्यक्त गरे ।

छलफलमा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले चालु आर्थिक वर्षको पहिलो महिनाको अर्थतन्त्रका तथ्याङ्कमा बाह्य स्थितिमा उल्लेखनीय सुधार देखिएको बताए ।

तर, आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिँदा अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको भन्दै गभर्नरको ध्यानाकर्षण गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस