शिक्षक महासङ्घले समिति गठन नगर्दा वार्तामा ढिलाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षक महासङ्घले समिति गठन नगर्दा वार्तामा ढिलाइ


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । तीन दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासङ्घले वार्ता समिति गठन नगर्दा सरकार र महासंघबीचको औपचारिक वार्तामा ढिलाइ भएको छ ।

बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ५ मन्त्रीसहित शिक्षक प्रतिनिधिसँग छलफल भएको थियो । छलफलले औपचारिक वार्ताका लागि पत्राचार गर्दै शुक्रबार बिहान पुनः वार्तामा बस्ने समझदारी गरेको थियो । तर शिक्षक महासङ्घले समिति गठन नगर्दा वार्ता सुरु हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलन परिचालन समितिको बैठक बसेर वार्ता कमिटी बनाउने तयारी भइरहेको जानकारी दिए ।

महासङ्घले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता समिति बनाएको छ । सरकारले भने गृहमन्त्रीको नेतृत्वमा वार्ता हुने जनाएको छ । सरकारी वार्ता समितिमा शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी सहित कानुन र अर्थ सचिव सदस्य रहने बताइएको छ ।

शुक्रबारको छलफलमा अर्थमन्त्री प्रकाशशरण महत, शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, सूचना प्रविधिमन्त्री रेखा शर्मा र ती मन्त्रालयका सचिवहरू सहभागी थिए । शिक्षकको तर्फबाट महासङ्घ अध्यक्ष कमला तुलाधर, आन्दोलन संयोजक पराजुली र काँग्रेस, एमाले, माओवादी निकट शिक्षक सङ्गठनका अध्यक्ष सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस