चार समस्या औँल्याउँदै नारायणकाजीले भने- ‘माओवादीमा भ्रष्टीकरण बढ्यो’ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चार समस्या औँल्याउँदै नारायणकाजीले भने- ‘माओवादीमा भ्रष्टीकरण बढ्यो’


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा अहिले देखिएको चार समस्या औँल्याएका छन् ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधनको क्रममा पार्टीमा भ्रष्टीकरण बढेको स्वीकारेका हुन् ।

उनले अन्य पार्टीभन्दा माओवादी फरक भएपछि पछिल्लो समय पार्टी विधि, पद्धतिमा र विधान अनुकूल सामूहिक निर्णयबाट चल्न छाडेको गुनासो गरे । उनले पार्टीका नेताहरूको कुनै व्यापार व्यवसाय नभए पनि आलिशान जीवनशैलीले प्रश्न उठेको बताए ।

श्रेष्ठले औँल्याएका चार समस्या :

एक : पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौ । अहिले सतही कुरा हुन्छ । विचार, सिद्धान्त धेरै उपेक्षित भएको छ । कसैलाई मतलब नै छैन । विचारका उज्यालो र सिद्धान्तको मार्गनिर्देशनअनुसार लामो समयसम्म क्रान्तिकारी अगाडि बढ्न सक्दैनन् । अहिले हामीमा अध्ययन पनि छैन ।

वैचारिक छलफल, सिद्धान्तको कुरा पनि छैन । अहिले नयाँ मान्छे पनि पार्टीमा छैन । त्यसकारण हाम्रो दृष्टिकोण, विचार, सिद्धान्तको कुरा सही छ । त्यसलाई विकास गरेरमात्रै नेपाललाई बनाउन सक्छौँ भन्ने कुरामा ध्यान जान छाड्यो । हाम्रो विचलन त्यहाँ भएको छ

दुई : पार्टी सङ्गठनलाई विधि र पद्धतिमा चलाउनुपर्‍यो । विधान अनुकूल सामूहिक चलाउनुपर्‍यो । गुटबन्दी, व्यक्तिवादी व्यवहार गर्नुभएन । विधि सम्मत ढङ्गले सामूहिक र संस्थागत ढङ्गले पार्टी चलाउनुपर्‍यो र कार्यकर्ताको न्यायोचित मूल्याङ्कन गर्नुपर्‍यो । निष्ठावान, सैद्धान्तिक र जनताको सेवा गर्छन्, जो भ्रष्टाचार गर्दैन, तिनलाई मुख्य जिम्मेवारी दिनुपर्छ । हाम्रो त्यहाँ पनि कमजोरी हुन थालेको छ । विधि, पद्धति नमान्ने । कोही अराजक छन्, कोही पद पाएपछि मै सर्वेसर्वा हो भन्ठानेर नोकरशाही छन् ।

तीन : अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । आफ्नो पैतृक सम्पत्ति त्यति देखिएको छैन । पार्टीले पैसा पनि दिएको छैन । दिनसक्ने हालत पनि छैन । हाम्रो केही पनि नभएका पूर्णकालीन कार्यकर्तालाई बचाउन सहयोग गर्न सकेको छैन ।

सुख र विलाशी जीवन बिताउन पार्टीले कसैलाई पैसा त दिएको छैन । काम गरेको, कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यसकारण हाम्रो पनि भ्रष्टीकरण बढ्दै गएको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।

चार : जनतासँग हाम्रो सम्बन्ध कमजोर भएर गएको छ । पहिलाको मजदुर, किसान, दलित, गरिब, सुकुमबासी, जनजातिहरूसँग सम्बन्ध राख्थ्यौँ । उनीहरूका मुद्दा उठाउँथ्यौ । उनीहरूको हक अधिकारप्रति बोल्थ्यौँ । उनीहरूको घरमा बस्थ्यौँ, जान्थ्यौँ, छलफल गर्थ्यौँ । हो, अहिले सङ्घर्षको स्वरूप परिवर्तन भएकाले संसदमा जानुछ । सरकार चलाउनु छ । त्यो काम त बढेकै छ, अलिक फरक मोर्चाको काम ।

तर, त्यसो भनेको जनतासँगको सम्बन्ध छाड्दिने भनेको हो रु त्यो भनेको दलाल नोकरशाही, पुँजीपतिसँग सम्बन्ध बढाउने, उसैसँग मात्रै उठबस गर्ने, ठेकेदार, व्यापारी, अलिकति पैसा भएकै मान्छेसँग मात्रै सम्बन्ध राखेर आफ्नो जीवन चलाउने अनि जनता र कार्यकर्तालाई चासो नदिने भन्या हो र रु होइन नि ! त्यहाँ पनि हाम्रो कमजोरी हुन थाल्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस