अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने दुई जना पक्राउ  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने दुई जना पक्राउ 


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । अख्तियारको कर्मचारी भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत भदौ ११ गतेदेखि १५ गतेसम्म जनकपुरका विभिन्न ७ वटा पसलहरूमा गएर धम्की दिएर पैसा असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

पक्राउ पर्नेमा हंसपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३७ का अनिल सिंह र ३२ वर्षीय राहुल सिंह रहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

‘हामी अख्तियारका कर्मचारी हौँ, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईंको पसल सिल गर्छौँ भन्दै धम्की दिएर नगद रुपैयाँ असुल गर्दै हिँडेपछि जनकपुरको भ्रमपुरा चोकबाट उनीहरूलाई पक्राउ गरेका हौँ,’ उनले भने।

उनीहरूले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुबै जनाविरूद्ध ठगी कसूर शीर्षक मुद्दामा पाँच दिन म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस