सङ्खुवासभाको कारागार प्रमुख र सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जीपछि आफन्तले बुझे शव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सङ्खुवासभाको कारागार प्रमुख र सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जीपछि आफन्तले बुझे शव


२९ श्रावण २०८०, सोमबार


सङ्खुवासभा । कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारीपछि जिल्ला कारागार सङ्खुवासभामा मृत्यु भएका दुई कैदीको शव आज आफन्तले बुझेका छन् । कारागार प्रमुख राजेन्द्र घिमिरे र सहायक निरीक्षक लक्ष्मी चौधरीको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको सार्वजनिक भएको छ ।

युवकहरूको मृत्यु भएको ६ दिनपछि आफन्तले शव बुझेका हुन् । मृतक दुवै जनाको आजै अन्त्येष्टि गरिने आफन्तले जनाएका छन् । गएको बुधबार कुटपिटबाट दुई कैदीको मृत्यु भएको आफन्तको आरोप छ । किटानी जाहेरीपछि शवको पोस्टमार्टम गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले आइतबारसम्म शव बुझ्न मानेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी हत्याको घटनामा १० प्रहरी र ५ कैदीबन्दीमाथि थप अनुसन्धान गरिरहेको बताउँदै आएको छ । मादी नगरपालिका-५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गरेका थिए ।

कुटपिटबाट सङ्खुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीले पनि विज्ञप्ति जारी गरेर झ्याल काटेर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट कुटपिट भएको स्विकारिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस