काठमाडौँ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहकारीको जग्गा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खडका, सञ्चालक समितिका सदस्यहरूसमेत ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार लिमिटेडका तत्कालीन अध्यक्ष खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर भएको छ।
त्यस्तै तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्य, दैलेख घर भई काठमाडौँको टोखा-३ बाँसबारी बस्ने गीताकुमारी शाही र बाँके कोहलपुर-११ का सुरोज गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको प्रवक्ता दाहालले बताए।
साझा भण्डारको नाममा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ को ०-२–० क्षेत्रफल भएको र बाँके कोहलपुर तत्कालीन गाविस वडा नम्बर ३ को ०-२-१७ क्षेत्रफलको जग्गा उनीहरूले बिक्री गरेको आरोप छ।
अनुचित लाभ लिएर कम मूल्यमा जग्गा बिक्री गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
अनुसन्धान हुँदा उनीहरूले बिना आधार र हचुवाको भरमा जग्गाको मूल्य कम राखेर बिक्री गरेको प्रवक्ता दाहालले बताए।
तत्कालीन अध्यक्ष खड्का, सदस्य राजवंशी, मानन्धर, थापा, न्यौपाने र थापाविरुद्ध दुवै जग्गाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
उनीहरूले संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ घाटा पुर्याएको भन्दै उक्त बिगो कायम गरी अख्तियारले कैद र जरिवानाको मागदाबी गरेको छ।