धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु


२४ श्रावण २०८०, बुधबार


धनुषा । धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । मिथिला नगरपालिका-२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको छ ।

स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा बालकको मृत्यु भएको हो । मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा आएको बाढी आएको छ ।

बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए । खोलामा बालक डुबेको खबर पाउन साथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो ।

उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन् । कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस