संसदको अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख घिमिरे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदको अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख घिमिरे


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । संघीय संसदमा केही समय यता जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका तीन शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन् ।

बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठक बस्नुभन्दा एक घण्टाअगाडि दिउँसो १२ बजे शीर्ष नेतृत्वसँग सभामुख घिमिरेले संसद गतिरोध अन्त्यका लागि छलफल गर्न लागेका हुन् ।

आइतबार राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग भएको छलफलमा संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले तयार नभएपछि सभामुख घिमिरेले आज पनि शीर्ष नेतृत्व तहमै छलफल गर्न लागेका हुन् ।

सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसदको बैठकमा अवरोध गर्दै आएको छ ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरी संसदको गतिरोध फुकाउने प्रयत्न गरेका थिए । उनले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग पनि विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन् । तर, सबै प्रयास असफल भएपछि आजको संसद बैठक बस्नु भन्दा एक घण्टा अगावै घिमिरेले शीर्ष नेतृत्वको तहमै छलफल गर्न बैठक बोलाएका हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस