सेनाको हवाई सेवा अझै विश्वसनीय र गुणस्तरीय बनाउन मन्त्री खड्काको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेनाको हवाई सेवा अझै विश्वसनीय र गुणस्तरीय बनाउन मन्त्री खड्काको आग्रह


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन्।

नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवा अन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरूभन्दा भिन्न रहेको बताए। उनले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गरेका छन्। 

अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पारे।

उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक विपद् तथा उद्धारका काममा रातदिन खटेर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताए।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको उनको भनाइ थियो।

रक्षामन्त्री खड्काले भने, “तपाईँहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेसामा हुनुहुन्छ, तपाईँहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस्।”

Tags :
प्रतिक्रिया दिनुहोस