समायोजन गरिँदै १४ वटा विद्यालय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समायोजन गरिँदै १४ वटा विद्यालय


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । १४ वटा विद्यालय समायोजन हुने भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका भित्रका विद्यालयलाई समायोजन गर्न लागिएको हो ।

शनिबार बसेको नगर कार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएका विद्यालयलाई एक आपसमा गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको मेयरको सचिवालयले जानकारी दिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ को शैलेश्वरी माविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति माविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया माविलाई वेला माविमा र वडा नम्बर १८ को नेपाल भूपू सैनिक माविलाई खप्तडी माविमा गाभ्ने निर्णय गरिएको छ।

त्यसैगरी वडा नम्बर १२ को बेहडाबाबा माविका १ देखि ५ सम्मका कक्षा सिद्धनाथ माविमा र वडा नम्बर १७ को कालिका माविका ४ र ५ कक्षा न्यु कालिका माविमा समायोजन गरिने जनाइएको छ ।

धनगढी उप-महानगरपालिका-५ को राष्ट्रिय मावि ६ को भैरवबाबा मावि, ९ को सरस्वती मावि, १२ को नवदुर्गा मावि, १४ को सिद्धार्थ मावि र वडा नम्बर १५ को जनजागृति माविका ६ देखि ८ सम्मका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको छ।

राष्ट्रियको पञ्चोदय माविमा, भैरवबाबाको वासुदेवी माविमा, सरस्वतीको धनगढी नमुना माविमा, नवदुर्गाको दुर्गा आविमा, सिद्धार्थको सर्वोदय माविमा र जनजागृतिको राष्ट्रिय माविमा समायोजन गर्न लागिएको छ। त्यस्तै, वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय माविको कक्षा ९ र १० सोही वडाको कैलाली गाउँ स्थित जनता राष्ट्रिय माविमा र वडा नम्बर १४ को दीपेन्द्र चारपाते माविका कक्षा ९ र १० सोही वडाको बेहडाबाबा माविमा समायोजन गर्ने तयारी गरिएको छ।

नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान नियमावलीअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गर्न लागेको उपमहानगरले जनाएको छ। बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको छ।

त्यस्तै, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस