चिडियाखानामा छिट्टै सटल बसको व्यवस्था गर्छु : मेयर महर्जन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिडियाखानामा छिट्टै सटल बसको व्यवस्था गर्छु : मेयर महर्जन


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ ।  ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन्।

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोर्‍याइ, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए।

त्यसैगरी, मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे। धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाइ थियो।

कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकाेमा सम्मान गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस