बाघको सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनमा चुनौती थपिएको छ : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाघको सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनमा चुनौती थपिएको छ : प्रधानमन्त्री


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । 

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा निर्धारित अवधि अगावै लक्ष्य पूरा भएको बताएका हुन। 

नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्य तोकिएको अवधि अगावै पूरा भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले बाघको सङ्ख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गरे । उनले बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरे ।  उनले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताए ।

बाघको संरक्षण तथा व्यवस्थापनमा थपिएका चुनौतीलाई सम्बोधन गर्न बाघसम्बन्धी थप अध्ययन अनुसन्धान, अग्रपङ्क्तिमा खटिएका कर्मचारीको क्षमता अभिवृद्धि, सम्बद्ध सरकारी तथा गैरसरकारी क्षेत्र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीचको समन्वय उत्तिकै आवश्यक छु, प्रधानमन्त्री प्रचण्डले बताए । 

उनले बाघको बासस्थान नजिकका स्थानीय समुदायलाई जनचेतनामूलक कार्यक्रम तथा वैकल्पिक आयआर्जनसम्बन्धी कार्यक्रमको आवश्यकतालाई मध्यनजर गरी गएको वर्ष राष्ट्रिय बाघ संरक्षण समितिको बैठकबाट ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन वार्षिक एक अर्ब रुपैयाँ बजेट परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

आउँदा दिनमा मानव र वन्यजन्तुबीचको सह–अस्तित्व कायम गर्नमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न उनको आग्रह छ । ‘मानव बाघ सहअस्तित्व’ नाराका साथ राष्ट्रिय बाघ संरक्षण समितिको आयोजनामा आज नेपालमा पनि विश्व बाघ दिवस मनाइँदै छ । 

Tags :
प्रतिक्रिया दिनुहोस