कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । कणाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तर्क्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन् । 

उनले वीरेन्द्रनगर नगरपालिका-१३ सुर्खेत इन्द्रपुरका कृषक तुलसीप्रसाद गौतम र वडा नं ११ का नन्दाकुमारी पोखरेललाई पहिराएर प्रदेश सरकारको लोगो सार्वजनिक गरे । उक्त कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रदेश सरकारको अग्र्यानिक अभियानलाई घोषणाको तहमा लैजान सहयोग पुर्‍याउने कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए । 

“हामी कृषि तथा वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्छौँ”, उनले भने, “बजारीकरण र मूल्य शृङ्खलामा किसानलाई जोडेर लैजान्छौँ । रैथाने बालीको प्रवर्द्धन र ढिकी, घट्ट, ओखलजस्ता परम्परागत उद्योगका विषयमा पनि एउटा सोच निर्माण गर्छौँ ।” मुख्यमन्त्री शर्माले कृषि मन्त्रालयबाट पहिलो पटक प्रकाशन गरिएको ‘कृषि तथा पशुपक्षी डायरी २०८०’ को समेत विमोचन गरेका थिए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पौष्टिक आहारयुक्त रैथाने अन्न कर्णालीमा पाइने तर कुपोषित, पुट्का, ख्याउटे बालबालिका पनि कर्णाली रहेको भन्ने अन्तर्विरोधी भ्रम चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए । माटो परीक्षण, सिँचाइ, कृषि र पशुपालन गर्न सकिएमात्र सरकारले थालेको प्राङ्गारिक प्रदेश निर्माणको अभियानले सार्थकता पाउने उनको भनाइ थियो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उत्पादनका हिसाबले कर्णाली कमजोर नरहेको तथा समृद्धितर्फ अग्रसर हुनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिए । उत्पादनका दृष्टिकोणले सबैभन्दा बढी काठमाडौँ परनिर्भर रहेको उनको जिकिर  थियो । मन्त्री जिसीका अनुसार बाँझो जमिन उपयोगको नीतिलाई कार्यान्वयनमा ल्याउन सरकार लागिपरेको छ ।  

जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले प्राङ्गारिक उत्पादनका लागि भूगोलअनुसारको माटो परीक्षण, उच्च मूल्यको रैथानेबाली उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । स्वस्थ जनशक्ति निर्माणका लागि रैथाने बाली उत्पादन कर्णालीका लागि अनिवार्य शर्त हुनुपर्ने उनको जिकिर थियो ।

उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.राजेन्द्रप्रसाद मिश्रले भोकमरी र गरिबी भएको ठाउँमा प्राङ्गारिक कृषि किन भन्ने प्रसङ्ग उठान गर्दै कर्णालीको प्राङ्गारिक इतिहास, यहाँको वर्तमान र खाद्य सुरक्षा अवस्था, यसको उत्पादन, आय बढाउने मूलमार्ग, गुणस्तरीयता र निरन्तरतालगायतका विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै प्राङ्गारिक मलको पहिलो कारखाना पशुपालन भएको बताउनुभएका सचिव डा. मिश्रले प्राङ्गारिक प्रदेश निर्माणको अभियान लक्ष्यमा पुर्‍याउन स्थानीय तहको वडादेखि सङ्घ सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबै सरोकारवालाले स्वामित्व लिनुपर्नेमा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्णाली प्रदेशका सचिव डा. नरहरिप्रसाद घिमिरेले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लिएको प्राङ्गारिक प्रदेश निर्माणको अभियानका लागि मन्त्रालयले निर्माण गरेको नीति, ऐन, नियमावली, कार्यविधि, मार्गदर्शनसहितको योजना, कार्यक्रमबारे समाविष्ट कार्यपत्र प्रस्तुत गरे ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीका किसानको सम्पदा लेखेको ‘मूल्यवान’ लोगो यहाँका १२ वटा समूह सहकारीलाई प्रदान गरिएको बताए । “कर्णालीले जे उत्पादन गर्छ ती सबै मूल्यवान छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनेछ”, प्रवक्ता कठायतले भने,“मूल्यवान लोगो अङ्कित अदुवा, टिमुरलगायतका यहाँका उत्पादन युरोप पुगेका छन् ।”

यसले कर्णालीको पहिचान अन्तर्राष्ट्रिय जगत्मै पुर्‍याएर देशको सान बढाउन सहयोग पुगेको उनको भनाइ थियो । उक्त कार्यक्रममा युएसएड, भकारी, मर्सिक्रोप्स, जिआइजेट ग्रेप, डिसिए, लि-बर्ड ग्रीन कर्णालीको सहकार्य रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस