नेपाल र चीनबीच कृषि सीप आदान- प्रदान हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल र चीनबीच कृषि सीप आदान- प्रदान हुने


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो ।

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तान्तरण तथा प्रवर्द्धन गरिने छ ।

यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यालयमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवं छलफल भएको नार्कका कार्यकारी निर्देशक डा भट्टराईले जानकारी दिए । ‘एक अर्काको अनुसन्धानका बारेमा बुझ्दै कृषि क्षेत्रको विकासबारे छलफल गरेर गुणस्तरीय उत्पादन बढाउँदै जाने विषयमा समझदारी भएको छ’ उनले भने ।

सोही क्रममा सासका उपाध्यक्ष डा.लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धी तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिइने उनले बताए ।

सासका उपाध्यक्ष डा. लेओको नेतृत्वमा टोली तीन दिने नेपाल भ्रमणमा आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस