काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको दाबी गरे।
उनले समाज साँस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए। अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरूसँग रमाउन थालेको उनको भनाइ थियो।
उनले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए। उनले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको जिकिर गरे।
उनले भने, ‘एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन्। एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ। त्यसमा भक्तिरसतर्फ समाजलाई डोर्याउने कुराले राज्य कमजोर भएका बेला, अहिले राज्य त्यसबेलाको भन्दा मजबुत छ तर पनि भक्ति रस पनि भङ्ग भयो, नैतिक रस पनि छैन। भक्ति पनि समाप्त भयो।
भगवानसँग पनि डराउन छोड्यो मान्छे। नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभावी बोल्के कुरा, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्वन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ।’
उनले थपे, ‘अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्वन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ। त्यो चिन्ताको विषय हो।’