संघीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छ : स्वास्थ्य मन्त्री बस्नेत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संघीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छ : स्वास्थ्य मन्त्री बस्नेत


२३ असार २०८०, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन्।

सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए।

मन्त्री बस्नेतले भने, ‘आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ। अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ। चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ।’

मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उनले यसबाट हजारौँ सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको छ भने।

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गरे।

उनले भने, ‘संविधानमा स्वास्थ्योपचारलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ। व्यवहारमा त्यो छैन, अहिले पनि धेरै मानिसलाई अस्पताल पुग्न चुनौती छ, उपचार महँगो छ, औषधि पाइन्न, पाए पनि किन्न सकिन्न, पैसा नभएर उपचार नगरी घर फर्कनुपर्ने बाध्यता पनि छ।’

Tags :
प्रतिक्रिया दिनुहोस