खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्छ : पूर्वमन्त्री आले « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्छ : पूर्वमन्त्री आले


२३ असार २०८०, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको विकासका लागि सरकारले ठोस पहल चाल्नुपर्ने बताएका छन् ।
आज पर्यटन बोर्डमा एभरेष्ट ग्यालरीको आयोजनामा ‘दृश्यमा खप्तड’ विमोचन समारोहमा उनले सुदूरपश्चिम क्षेत्रमा रहेको खप्तड क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँ विकासको ठूलो कायापलट हुने बताए । उनले भने, ‘सरकारले खप्तड क्षेत्रको विकास गरे समग्र सुदूरपश्चिमको विकास हुनेछ, खप्तडलाई देश विदेशमा चिनाउने गरी विकासका पूर्वाधार निर्माण गर्नु जरुरी छ ।’

पूर्वमन्त्री आलेले खप्तड क्षेत्रमा पर्यटकीय पूर्वाधारदेखि सडक, विद्युत्लगायतका सेवाको अति आवश्यक भएकाले सरकारले त्यहाँ पर्यटक भित्र्याउनका लागि सडकको पहुँच पु¥याउन जरुरी भएको बताए । सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र रहेको भए पनि सरकारले ती क्षेत्रको विकास तथा विस्तारका लागि ठोस पहल चाल्न नसकेका कारण ती क्षेत्र ओझेलमा पर्दै गएको उनको भनाइ थियो ।

आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि थुप्रै काम गरेको र बजेट पनि विनियोजन गरेको भए पनि आफू मन्त्रीबाट हटेपछि अहिले ती विकासका कामलाई पछिल्लो सरकारले निरन्तरता नदिएको पूर्वमन्त्री आलेले बताए । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्र्याउनका लागि त्यहाँ रहेका पर्यटकीय क्षेत्रको विकासका साथै त्यहाँका विमानस्थलमा अनिवार्यरूपमा जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

आन्तरिकतर्फको काठमाडौँपछिको दोस्रो ठूलो विमानस्थल धनगढीको स्तरोन्नति मात्रै गर्न सके सुदूरपश्चिमका खप्तड, बडिमालिका, शैलेश्वरी, बड केदारलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउन सकिने र त्यहाँको विकासमा सहज हुने उनको भनाइ थियो ।

एभरेष्ट ग्यालरीले आफ्नै लगानीमा खप्तड क्षेत्रमा पुगेर त्यहाँका विभिन्न मनोरम दृश्यसहितको भिडियो निर्माण गरी प्रसारण गरेकोमा उनले समग्र टिमलाई धन्यवाद व्यक्त गरे । यस्ता दृश्यले पर्यटक भित्र्याउन सहज हुने भन्दै खप्तडका दृश्य, भिडियो छायाङ्कन गर्ने टिमलाई आगामी दिनमा आफूले सक्ने सहयोग गर्ने पूर्वमन्त्री आलेले बचनबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस