काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग जवाफ माग गरेको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सरुवा, काज तथा कामकाज गर्न खटाएको विषयमा कानुनी आधार सोधेको हो ।
त्यहाँ मन्त्रालयबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको अन्तर स्थानीय तह सरुवा, काज, कामकाज, काज फिर्ता सम्बन्धी काम गरिरहेको विषय यस मन्त्रालयमा जानकारी हुन आएकोले स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सरुवा, काज, कामकाज, काज फिर्ता के कुन कानुनको आधारमा गरिएको हो ? सामान्य प्रशासनले स्वास्थ्य मन्त्रालयलाई सोधेको छ, सो को जानकारी यस मन्त्रालयमा पठाई कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यमा सुशासन कायम गर्न सहयोग गरिदिनु हुन मन्त्रालयको मिति २०८०/०३/२० गतेको निर्णय अनुसार अनुरोध छ ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा समायोजित कर्मचारीहरूलाई मनलाग्दी सरुवा गर्ने, काज पठाउने तथा फिर्ता गर्ने गरेको भन्दै व्यापक गुनासो आएको थियो । जसलाई सामान्य प्रशासन मन्त्रालयले कानुन विपरीत कार्य गरेको ठहर गरेको छ । आफ्नै कर्मचारीको ठिक विवरणसम्म राख्न नसकेको मन्त्रालय तथा सचिव पछिल्लो समय उपकरण खरिदकै ध्याउन्नमा व्यस्त हुँदा स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सास्ती खेप्दै आएका छन् ।







