कोशीमा मुख्यमन्त्री पाए मात्रै नयाँ गठबन्धनमा जाने राप्रपाको तयारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोशीमा मुख्यमन्त्री पाए मात्रै नयाँ गठबन्धनमा जाने राप्रपाको तयारी


१७ असार २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग काँग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेश सभामा ६ सिट भएको राप्रपाले काँग्रेस-माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न थालेको छ ।

कोशी प्रदेशमा काँग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल बढिरहँदा सत्ताको साँचो बोकेर बसेको राप्रपाले मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सार्न थालेको हो ।

नयाँ गठबन्धनबाट सरकार गठनका लागि प्रस्ताव आउँदा आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने सर्त राख्ने राप्रपाका एक नेताले बताए । कोशी प्रदेशमा अहिलेको गठबन्धनमा एमाले र राप्रपाका गरी ४६ सदस्य रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको भने ६ सिट छ ।

एमाले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनमा जटिलता देखिएको छ । प्रतिपक्षमा गठबन्धन दल काँग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । जसपाको भने एक सांसद छन् । सभामुखले भने सरकार गठनको क्रममा मतदान गर्न पाउँदैनन् ।

एमालेलाई साथ दिँदै आएको राप्रपालाई काँग्रेस र माओवादीले आफ्नो पक्षमा पार्न सकेमा मात्रै उनीहरूको सरकार सहज रूपमा बन्ने अवस्था छ ।

तर राप्रपाले अर्को गठबन्धन जानुपरेको खण्डमा मुख्यमन्त्री पदलाई बटम लाइन बनाउन थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस