काठमाडौँ । कोशी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुने जनाइएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो (बिहीबार) विश्वासको मत मागेका थियो तर उनले थप समय लिँदा प्रदेश सभा बैठक आजका लागि सारिएको थियो ।
हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनकै आग्रहमा सभामुख बाबुराम गौतमले बैठक सारेका थिए ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक छ । तर एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा र काँग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद विपक्षमा छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ ।
एमाले नेता कार्की गएको पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार्कीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।