पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


११ असार २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा ढकालविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी रु. १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको छ । 

एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउनका साथै प्रतिवादी ढकालले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको श्रोत नखुलेको बिगो निजको नाममा हाल कायम रहेको घर–जग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस