विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने मुख्यमन्त्री कार्कीको तयारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने मुख्यमन्त्री कार्कीको तयारी


११ असार २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेश सरकारले विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते एक बजेलाई विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने तयारी गरेको छ ।

सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यहाँ हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रदेश सभामा १ सीट रहेको जसपा जेठ १७ गते सरकारबाट फिर्ता भएको थियो । जसपाकी निर्मला तावा लिम्बू स्वास्थ्यमन्त्री थिइन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएका ३० दिनभित्र पुनस् विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले विशेष अधिवेशन बोलाउन सिफारिसको तयारी गरेको हो । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै प्रदेश प्रमुखलाई अधिवेशन बोलाउन सिफारिस गरिनेछ ।

माओवादी केन्द्रले पनि हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले जेठ ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

अहिले कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सीट आवश्यक पर्दछ ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको (सभामुखसहित) १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ सांसद छन् । सरकार बनाउनदेखि टिकाउनका लागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाले साथ दिइरहेको खण्डमा एमालेलाई ४६ सांसद पुग्छ । थप सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको सरकार अन्य दलहरूलाई फकाउने र बहुमत पुर्‍याउने तयारीमा एमाले लागेको छ । तर, अहिलेसम्म यो तयारी परिपक्व नभएको एमाले नेताहरूले बताएका छन् ।

प्रदेशमा गठबन्धनमा रहेका दलहरू पनि सरकार गठनका लागि बहुमत जुटाउने कसरतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस