काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए पास हुन नदिने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले सांसदका मागहरू सम्बोधन हुने गरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरूले नै पास हुन दिन नहुने बताए।
सांसद राउतले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे। एक मन्त्रीले मात्रै बजेट बनाउने भए दुई सय ७५ सांसद आवश्यक नभएको भन्दै उनले निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने प्रस्ट पारे।
‘समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्छ । कार्यान्वयन होला-नहोला छुट्टै कुरा छ। समितिको रूपमा हामीले त्यो जिम्मेवारी निभायौँ । कार्यदल भनेको छ, त्यसले बजेट संशोधन आवश्यक छ भन्ने कुरा लिएर जानुपर्छ । मन्त्री पद सदाबहार शासक होइन । मन्त्री बन्दैमा अहङ्कार देखाउनुपर्छ भन्ने पनि होइन । एकजनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसद किन आवश्यक पर्ने थियो । एकजनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधि निर्वाचित भएर आएका छौँ । त्यसैले मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ,’ उनले भने।