रुपन्देही । प्युठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन् ।
अध्यक्ष महताराको छोरा(अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसीलगायतलाई हातपात गरेसँगै कर्मचारीहरू आन्दोलित भएका छन् ।
एमसीले प्रक्रिया नपुगेको फाइल जबरजस्ती सदर गराउन खोजेपछि उत्पन्न विवादका क्रममा हातपात भएको कर्मचारीले बताएका छन् । कर्मचारीमाथि हातपात गरी तथानाम गाली बेइज्जतीसमेत गरेको आरोप कर्मचारीको छ ।
कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात भएको अवस्थामा पीडकलाई कारबाही नहुँदासम्म काममा नफर्कने कर्मचारीले जनाएका छन् । बुधबार दिउसो पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।
सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलन एमसीले टेबलमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ ।