काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दुराष्ट्र संविधान विपरीत नभएको बताएको छ । राप्रपाले विधानमै राजसंस्था र हिन्दुराष्ट्र उल्लेख हुनु संविधान विपरीत नभएको स्पष्ट पारेको हो ।
राप्रपाको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘विगतमा निर्वाचन आयोगबाट पटक-पटक राप्रपाको विधानमा रहेको राजसंस्था, हिन्दुराष्ट्र र संघीयतासम्बन्धी अवधारणालाई संविधान विपरीत भन्दै प्रश्न उठ्दै आएको थियो । यसपटकबाट राप्रपाको विधानमा राजसंस्था र हिन्दुराष्ट्र उल्लेख हुनु संविधान विपरीत होइन भन्ने टुङ्गो लागेको छ ।’
यस पटकको प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा कुनैपनि एक राजनीतिक दललाई मात्र मतदाताले विश्वास गरेर बहुमत प्रदान नगरेको प्रतिवेदनमा भनिएको छ ।
प्रमुख दलका कारण मुलुक गम्भीर सङ्कटमा भएको राप्रपाले स्पष्ट पारेको छ । प्रतिवेदनमा भनिएको छ,‘ प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर सङ्कटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अङ्गहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अङ्गमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन ।’
राप्रपाले देशको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छा दल एकै कित्तामा उभिएको र यथास्थितिको निरन्तरताका पक्षधर बनेको आरोप लगाएको छ ।