कार्यालय सहयोगीको भरमा इलाका प्रशासन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कार्यालय सहयोगीको भरमा इलाका प्रशासन


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । दोलखास्थित इलाका प्रशासन कार्यालय सिंगटीबजार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । विगत ८ महिनादेखि कार्यालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । 

जिल्लाको उत्तरी भेगका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले २०७३ भाद्र ७ गतेदेखि इलाका प्रशासन कार्यालय सिंगटीबजार सञ्चालनमा आएको थियो । विगु गाउँपालिका, कालिन्चोक गाउँपालिकाको वडा नं. १ देखि ६ र गैरिशंकर गाउँपालिकाको वडा नं. ३ देखि ९ सम्म बसोबास गर्ने नागरिकलाई सेवा प्रदान गर्न कार्यालय स्थापना गरिएको हो । तर, पछिल्लो आठ महिनादेखि कार्यालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । 

कार्यालयमा एक अधिकृत, दुई नायब सुब्बा, एक सह लेखापाल र दुई कार्यालय सहयोगीको  दरबन्दी छ । तर, करारका दुई कार्यालय सहयोगी बाहेक कार्यालयमा स्थायी कर्मचारीहरू अहिले कोही पनि छैनन् । कार्यालय प्रमुख र अन्य कर्मचारी नहुँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।

कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्रिन्ट भए पनि हस्ताक्षरका लागि चरिकोट स्थित जिल्ला प्रशासन कार्यालय दोलखा नै जानु पर्ने बाध्यता छ । कार्यालय सहयोगी सविना खत्रीका अनुसार अहिले उनले एक्लै कार्यालय सम्हालेकी छन् । कम्प्युटर अपरेटर जिल्लामा काजमा छन् भने अर्का कार्यालय सहयोगी लक्ष्मी दाहाल बिदामा छिन् ।

इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा दोहोरो समस्या भएको छ । एकातर्फ नागरिकले दुःख पाएका छन् भने अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयमा पनि कामको चाँप बढेको छ । 

दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले इलाका प्रशासनमा कर्मचारीको व्यवस्था गर्ने विषयमा गृह मन्त्रालयसँग कुराकानी भएको बताए । उनले भने, इलाका प्रशासन कार्यालयमा मात्रै होइन जिल्ला प्रशासन कार्यालयमा पनि पर्याप्त कर्मचारी छैनन् । कामको चाँप बढेको छ । यसबारे गृहसँग कुरा भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस