८ दलले आज काठमाडौँमा सांसदहरूलाई प्रशिक्षण दिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

८ दलले आज काठमाडौँमा सांसदहरूलाई प्रशिक्षण दिने


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेससहित ८ दलले आज काठमाडौँमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।

राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रशिक्षण कार्यक्रममा काँग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ। प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने भएको हो।

गत फागुन १२ गते राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने ८ दलले निर्णय गरेका थिए। त्यसको भोलिपल्ट काँग्रेसले नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही दिन फागुन १३ मा पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका थिए।

साथै ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रियासमेत गर्ने भएका छन्। काँग्रेससहित दलहरूले पदाधिकारीलाई सम्बन्धित प्रदेशमा खटाइसकेका छन्।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस