सैनिक अधिकृतद्वय शाह र तिम्सिनालाई उपस्थित गराउन सर्वोच्चको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सैनिक अधिकृतद्वय शाह र तिम्सिनालाई उपस्थित गराउन सर्वोच्चको आदेश


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली सेनाको सैनिक प्रहरीले बन्दी बनाएका दुई सैनिक अधिकृतहरूलाई उपस्थित गराउनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । सेनाको प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई अदालतमा उपस्थित गराउन सर्वोच्चले जङ्गी अड्डालाई आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बुधबार प्राड महासेनानी शाह र प्राड प्रमुख सेनानी कुलदीप तिम्सिनालाई उपस्थित गराउन आदेश जारी गरेको हो ।

न्यायाधीश फुयाँलले सैनिक अधिकृतद्वय शाह र तिम्सिनाको तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै तीन दिनभित्र उपस्थित गराउन आदेश गरेका हुन् ।

सैनिक अधिकृतद्वयलाई पक्राउ गर्नुपर्नाको कारण महान्यायाधीवक्ताको कार्यालयमार्फत पेस गर्न पनि सर्वोच्चले जङ्गी अड्डालाई आदेश दिएको छ ।

सेनाले आर्थिक अनियमितताको आरोप लागेर छानबिनमा रहेका उपरथी प्रेम शाहीसँग जोडिएका सैनिक अधिकृतद्वय शाह र तिमसिनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएलगत्तै सर्वोच्च अदालतमा रिट परेको थियो । नेपाली सेनामा प्राड विभागलाई कानुनसँग सम्बन्धित जिम्मेवारी हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस