काठमाडौँ । सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । गृह मन्त्रालयले अन्तर्गत कार्यरत सहसचिवको व्यवस्थापन गरेको हो ।
प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाई पठाइएको छ । अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएका थिए ।
यसैगरी गृह मन्त्रालयमा कार्यरत सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाई पठाएको छ भने आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा, रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरुवा गरिएको छ ।
यस्तै गृह मन्त्रालयका सहसचिव नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया सरुवा गरिएको छ भने सोही कार्यालयमा कार्यरत बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।