मालपोत प्रमुखविरुद्ध मुद्दा परेपछि कार्यालयको काम लथालिङ्ग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मालपोत प्रमुखविरुद्ध मुद्दा परेपछि कार्यालयको काम लथालिङ्ग


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । मालपोत कार्यालय पर्साका निमित्त प्रमुख कमोद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएपछि मालपोत कार्यालय पर्साको कामकाज लथालिङ्ग भएको छ।

तिवारीविरुद्ध अख्तियारमा मुद्दा दर्ता गराएसँगै उनी निलम्बनमा परेका छन्। तिवारी निलम्बनमा परेसँगै मालपोत कार्यालय पर्सा वीरगञ्जको कामकाजसमेत प्रभावित भएको छ।

माघ २० गते अख्तियारले तिवारीविरुद्ध मुद्दा दर्ता गराएसँगै उनी निलम्बनमा परेका हुन्। पर्साको साविक गाविस बेल्वा-८ मा रहेको जग्गाको श्रेष्ता व्यक्तिको नाममा कायम गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख तिवारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सम्बन्धित समाचार : मालपोत कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत प्रमुख नहुँदा दैनिक आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन्। यसैगरी, एक दिनमै हुने कार्यका लागि तीन चार दिनसम्म लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। मालपोत प्रमुख नै कार्यालयमा नभएपछि विभिन्न किसिमका लिखत पारित, नामसारी, दाखिल खारेजलगायत कार्य ठप्प छ।

ठूलो संख्यामा सेवाग्राहीको भीड लाग्ने मालपोत कार्यालय पर्सा अहिले प्रमुखविहीन हुँदा सेवाग्राही कामै नगराई फर्किन बाध्य भएको ओमप्रकाश यादवले बताए। उनले प्रमुख कार्यालयमा नहुँदा कसैको नामसरी, कसैको जग्गा बिक्रीदेखि मुद्दाको कार्यसमेत रोकिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस