सापटी तिर्न अपहरणको नाटक गर्ने ६ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सापटी तिर्न अपहरणको नाटक गर्ने ६ जना पक्राउ


२५ माघ २०७९, बुधबार


काठमाडौँ। अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिपोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आसमान लामा, चितवनका दिलीप विक र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् ।

उनीहरूले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका-१३ का विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आसमान लामालाई १० लाख रुपैयाँ सापटी दिएका थिए । तर उनीहरूले पैसा तिर्न सकेका थिएनन् ।

मङ्गलवार विदुर, जगतबहादुर, कान्छामान र आसमान पुरानो नैकापस्थित पिस ब्याम्बो रिपोर्टमा बसेका थिए । त्यहाँबाट जगतबहादुर, कान्छामान र आसमानले विदुरको पैसा तिर्ने उद्देश्यले आ-आफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपैयाँ लिएर आउन भनेका थिए । तर उनीहरूका पत्नीहरू पतिको अपहरण भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न आइपुगेका थिए ।

एसपी राठौरका अनुसार प्रहरीले खोजी गर्दा उनीहरू पुरानो नैकापस्थित पिस ब्याम्बो रिपोर्टमा बसिरहेको फेला परेका थिए । प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिपोर्टमा सँगै बसेका दिलीप र भोलालाई पनि पक्राउ गरेको हो । उनीहरूमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको राठौरले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस