अनाथालयका प्रमुखमाथि १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अनाथालयका प्रमुखमाथि १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप


२३ माघ २०७९, सोमबार


पक्राउ

महेन्द्रनगर । मानसिक अवस्था स्थिर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्कर बहादुर चन्द माथि अहिले लागेको छ ।

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन ।

यहाँ दुई नाबालिकाले आफूहरूमाथि बलात्कार गरेको प्रहरी समक्ष बयानसमेत दिएका प्रहरी स्रोतको भनाइ छ । एक साताअघि यहाँ स्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरजस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यति बेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

‘उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ ।’ अनाथालयकै एक कर्मचारीले भने, ‘बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्त श्राप हुँदा घटना बाहिरिएको हो ।’

यता प्रहरीले उक्त घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान हुदैछ ।’ उनले भने, ‘बालिकालाई शान्ति पुनः स्थापना गृहको संरक्षणमा राखिएको छ ।’

गत माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो ।
टुहुरा बालबालिकाको आश्रय स्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुर्व्यवहारका घटनाप्रति यहाँ सर्वत्र विरोध भइरहेको छ । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

‘घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्नुहुँदैन ।’ नेपाल विद्यार्थी सङ्घकी नेतृ सञ्जु अधिकारीले भनिन्, ‘बालिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुर्व्यवहार हुनु निकै असह्य घटना हो ।’


विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए । ‘बालिकाको अनाथालयमा रक्त श्राप नभएको भए घटना बाहिर नै आउने थिएन ।’ यहाँ स्थित कञ्च विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले भनिन्, ‘सामान्य अवस्थामा पनि अनाथालय समितिका पदाधिकारीले बालबालिकाको मनोभावना नबुझ्ने र सुरक्षाको विषयमा सचेत नभएका कारण पनि यस्ता घटना भइरहेका छन् ।’


उनले महिला तथा बालबालिकाको सुरक्षा र बलात्कारजस्तो जघन्य अपराधमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही नगरेसम्म घटना बढ्दै जानेप्रति चिन्ता व्यक्त गरिन् । समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुर्व्यवहार गर्ने अपराधीमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए ।

बाल अनाथालयजस्तो पवित्र संस्थामा यस प्रकारको घटना हुनु अति नै दुखद विषय भएकाले उक्त घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा जनाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस