चौतर्फी आलोचना पछि डबल हेलमेटको प्रस्ताव सामसुम  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चौतर्फी आलोचना पछि डबल हेलमेटको प्रस्ताव सामसुम 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । दोहोरो हेलमेट लगाउनुपर्ने प्रस्ताव थप छलफल नै नगरी सामसुम भएको छ । 

मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने यात्रुले पनि हेलमेट लगाउनुपर्ने प्रस्तावको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमाथि थप छलफल नगरेको हो । मङ्गलवार मात्रै उक्त प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो।

सम्बन्धित समाचार : दोहोरो हेलमेट अनिवार्य गर्ने तयारी 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले हेलमेटको महत्त्वबारे व्यापक जनचेतना जगाएपछि मात्र थप छलफल गर्नुपर्ने निष्कर्षमा पुगेकोले तत्काललाई यो प्रस्ताव अघि नबढ्ने भएको हो । 

मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेलमेट नलगाउँदा दुर्घटनामा परे जीवन नै जोखिममा पर्ने गरेकाले सुरक्षाका लागि छलफल गरिएको मन्त्रालयको भनाइ थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा विभिन्न सरकारी तथा सामाजिक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सरकारले यसअघि पनि पछाडि बस्ने यात्रुलाई हेलमेट अनिवार्य गर्ने नियम ल्याउँदा सर्वसाधारणबाट चर्को विरोध भएपछि पछि हट्नु परेको थियो । यात्रुको सुरक्षा भन्दा पनि निहित इन्ट्रेस्टमा नीति ल्याउने गरेको भन्ने नागरिकको आलोचनाका कारण मन्त्रालय पछि हट्नु परेको बताइँदै आइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस