प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


९ माघ २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अदुवाको बीउ खरिद कार्यमा भ्रष्टाचार भएको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिकाका तत्कालीन अधिकृत पाण्डे, तत्कालीन नगर प्रमुख, लेखापाल र आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधिसमेत ६ जना विरुद्ध मुद्दा दायर गरिएको हो । 

अधिकृत ईश्वरीप्रसाद पाण्डे, नगर प्रमुख भूपराज अधिकारी, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरूको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेस गरेको अख्तियारको ठहर छ ।  

अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा अस्वभाविकरुपमा दररेट थप गरेर नगरपालिकालाई १३ लाख रुपैयाँ क्षति पुराएको अख्तियारले जनाएको छ । 

जसअनुसार उनीहरूले आपूर्तिकर्तालाई पटक पटक गरेर २ करोड १४ लाख ५० हजार भुक्तानी दिएको अख्तियारले जनाएको छ ।  उनीहरूउपर करबापत कट्टा गरिएको रकम घटाई कायम हुने एक करोड सन्तानब्बे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको भण्डारीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस