एमबिबिएस र इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिइने, राखियो यस्ता सर्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमबिबिएस र इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिइने, राखियो यस्ता सर्त


९ माघ २०७९, सोमबार


काठमाडौँ । पाँच वर्षमा पाँच जनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहनदार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो ।

प्रत्येक वर्ष एक-एक जनाका दरले पाँच वर्षमा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी एमबिबिएस र इन्जिनियरिङ पढाउनका लागि कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

चालू आवमा छात्रवृत्ति प्रदान गर्नका लागि रु १५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । रु १० लाख एमबिबिएस पढ्नेलाई र रु पाँच लाख इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

पढाइ पूरा नहुन्जेलसम्म छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको खर्च नगरपालिकाले ब्यहोर्ने उनले जानकारी दिए ।

नगरपालिकाबाट छात्रवृत्ति पाएर पढेका विद्यार्थीले कम्तीमा दुई वर्ष नगरपालिकाको स्वास्थ्य संस्था र प्राविधिक फाँटमा रहेर काम गर्नुपर्ने सर्त अघि सारिएको छ । पढाइ पूरा गरी नगरपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई र इन्जिनियरिङ पढेकालाई नगरपालिकाले सम्झौता गरी तलबमानमा रोजगारी उपलब्ध गराउने नगरप्रमुख महराले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस