माओवादीबाट रेखा, सुदन र महिन्द्रलाई मन्त्री बनाउने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादीबाट रेखा, सुदन र महिन्द्रलाई मन्त्री बनाउने तयारी


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किराँतीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरूबिच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जना मात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् ।

तर, पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाब दिएका छन् ।

उनले महिन्द्रको ठाउँमा माधवलाई मन्त्री बनाउन दबा बव दिइरहेको ती नेताको दावी छ । महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् । माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । यादवलाई मन्त्री बनाउन नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले दबाब दिइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रालय भागवण्डामा करिब सहमति जुटेको नेताहरू बताउँछन् । नेताहरूका अनुसार एमालेले १० मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले २ वटा मन्त्रालय पाउनुपर्ने माग राखिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीलाई २ मन्त्रालय दिएर एमालेले ९ वटा मन्त्रालय लिने गरी समझदारीको प्रयास भइरहेको शीर्ष नेताहरूको छलफलमा सहभागी नेताहरू बताउँछन् ।

माओवादी केन्द्रले ५, रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ३, जसपाले २ वटा मन्त्रालय लिने विषयमा सत्ता साझेदार दलहरूका बीचमा समझदारी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस