काठमाडौँ । पर्सामा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुवै जना भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।
त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरू डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
बुधबार बिहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको डिएसपी गिरीले बताए ।







