प्रचण्ड र बाबुराम ७ वर्षपछि फेरि एउटै पार्टीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रचण्ड र बाबुराम ७ वर्षपछि फेरि एउटै पार्टीमा


२३ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ ।

पार्टी एकतापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् ।

भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् । नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । त्यस बेलामा भएको सहमतिअनुसार नै पार्टी एकता प्रक्रिया अघि बढाउन लागिएको नेताहरुले बताएका छन् ।

शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुङ्ग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ ।

यो भेट लगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ । यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस