पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द


१८ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारले पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द गराएको छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मान्द्रेढुंगा प्यालाग्लाइडिङ जोनलाई मात्र कायम राखी अन्य सबै जोन बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले प्याराग्लाइडिङ व्यवसाय सञ्चालन सम्बन्धमा नेपाल हवाई खेलकुद सङ्घलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको कन्ट्रोल एयर स्पेस मध्ये बढीमा ट्राफिक गतिविधि हुने १० नटिकल माइल भित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी अन्य सबै जोन बन्द गरिएको हो । यस क्षेत्र भित्र कुल ४ वटा प्याराग्लाइडिङ जोन रहेका छन् । अब सराङकोट, तोरेपानी र ताम्गी स्थित प्याराग्लाइडिङ जोन बन्द गरिएको छ ।

यता प्राधिकरणले मान्द्रेढुंगामा भने ११ बजेदेखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने गरी समय तोकेको छ । यो समेत १ महिनाका लागि परीक्षणका रूपमा खुला गरिएको हो । यसबीचमा अब नेपाल हवाई खेलकुद संस्थाले हरेक दिन स्लट र सेड्यूल व्यवस्थापन निर्धारण गरेर मात्र उडान सञ्चालन गर्न पाउने छ । हवाई सुरक्षा सुनिश्चितताका लागि यस्तो निर्णय गर्नु परेको प्राधिकरणको तर्क छ ।

यस्तै विमानस्थलको १० नटिकल माइल क्षेत्र भित्र अनुमति पाएको जोनमा हुने हरेक प्याराग्लाइडिङ उडानमा अब यात्रुलाई बोर्डिङ पास दिनु पर्ने छ । यस्तो बोर्डिङ पास जारी गर्ने जिम्मेवारी नेपाल हवाई खेलकुद संस्थाको हुनेछ ।

संस्थाले हरेक उडानको नियमित गर्ने जिम्मेवारी समेत पाएको छ । उक्त विवरण प्राधिकरणलाई समेत बुझाउनु पर्ने प्राधिकरणको निर्णयमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस