७ राउण्ड गोली र कटुवा पेस्तोलसहित ३ जना भारतीय पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७ राउण्ड गोली र कटुवा पेस्तोलसहित ३ जना भारतीय पक्राउ


१७ पुस २०७९, आइतबार


काठमाडौँ । कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार जिल्लाको बेलौरी नगरपालिका-१ को बैशाखबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए ।

नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलिलाई पक्राउ गरिएको डिएसपी शाहले बताए । उनीहरूको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पुस ९ गते बेलौरी नगरपालिका-१ फटैयागाउँमा भारतीय जस्ता देखिने ६र७ जनाको समूहले स्थानीयबासिन्दालाई हातहतियार देखाएर ३ लाख २० हजार रुपैयाँ, सुनका गरगहना, मोबाइल लुटेको, पुस १२ गते बेलौरी नगरपालिका-२ को बैजुडाँडामा स्थानीयको घरमा प्रवेश गरी नगद, गरगहना र मोबाइल लुटेको घटनामा उनीहरूको समूह संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

लुटपाटमा संलग्न भएको कुरा स्वीकार गरेपनि उनीहरूको साथबाट ७ हजार भारतीय रुपैयाँ बाहेक अन्य सरसामान बरामद भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस