काठमाडौँ । काठमाडौँ उपत्यकामा आज गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।
कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।
त्यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने ८ ओटा स्कुल बसका चालकलाई पनि कारबाही गरिएको छ । सवारीको अवस्था ठिक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरू रहेका छन् ।
यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारबाही गरिएको छ । सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।