काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार हुनुपर्ने बताएका छन् । गृहमन्त्री खाँणले कोरोना महामारीपछि थला परेको अर्थतन्त्र अझै शिथिल रहेकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र चलायमान बनाउनु हुनुपर्ने बताए ।
भैरहवाको अञ्चलपुरमा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने हुनुपर्ने बताए ।
सरकारले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने निर्णय गरी सकेको हुँदा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई व्यवसाय सञ्चालन गर्न सकिने उनले बताए । रात्रिकालीन व्यवसायलाई प्रहरीले हस्तक्षेप गर्नुको सट्टा सहयोग गर्ने उनले आश्वासन दिए ।
गृहमन्त्री खाँणले भैरहवामा औद्योगिक व्यापार मेला सञ्चालन गर्न स्थायी जग्गा अभाव रहेकाले सिद्धार्थ मण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिए ।