गौतमबुद्ध विमानस्थलमा विद्युत् आपूर्ति गुणस्तरीय छैन : प्राधिकरण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गौतमबुद्ध विमानस्थलमा विद्युत् आपूर्ति गुणस्तरीय छैन : प्राधिकरण


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्ति समेत गुणस्तरीय नभएको गुनासो गरेको छ ।

गत २ जेठदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको विमानस्थलमा विद्युत् आपूर्तिमा भोल्टेज अपडाउनको समस्या रहेको प्राधिकरणकोले बताएको छ । यसका कारण विमानस्थलमा रहेका मेसिन/औजार उपकरण सञ्चालनमा समस्या भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणका अधिकारीहरूका अनुसार विमानस्थलमा अर्घाखाँची सिमेन्टदेखि विद्युत् आपूर्तिसम्मको समस्या रहेको बताउँछन् । एयर रुट सिधा नहुँदा जहाज सजिलै आकर्षित हुन नसकेको उनीहरू बताउँछन् । लुम्बिनी आउने पर्यटक आकर्षित गर्न नसक्दा समेत यो विमानस्थलले बिजनेस पाउन नसकेको प्राधिकरणको निष्कर्ष छ ।

एयर रुटमा पर्ने अर्घाखाँची सिमेन्टको चिम्नी हटाउन पत्राचार गरिसकिएको छ । तर, यसमा काम भएको छैन । उडान बढाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट समेत सहयोग र पहल हुनु पर्ने प्राधिकरणको भनाइ छ । लुम्बिनी पर्यटक आकर्षित गर्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाबाट टुर प्याकेज बनाएर प्रवर्द्धनमा लाग्न समेत प्राधिकरणले आह्वान गरेको छ । ईयूको अवरोधले समेत विमानस्थल सञ्चालनमा अवरोध गरिरहेको प्राधिकरणको निष्कर्ष छ ।

यस्तै सिधा एयररुट नभएको पनि प्राधिकरणको गुनासो छ । अहिले भारतको राजधानी नयाँ दिल्ली हुँदै आउने अन्तर्राष्ट्रिय उडानका जहाज सिधै नेपाल प्रवेश गर्न पाउँदैनन् । उनीहरूले सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेशको अनुमति पाउँछन् । यसले वायुसेवा कम्पनीहरूको लागत बढी हुने गरेको छ । सो सम्बन्धमा भारत सरकारसँग पत्राचार र समन्वय भइरहेको छ । नेपालले नेपालगञ्ज वा महेन्द्रनगरबाट इन्ट्री रुट मागेको छ । भारतले आनाकानी गरिरहेको छ ।

यस्तै भैरहवा र आसपासको क्षेत्रमा रहेका कृषिजन्य, पशुजन्य, औषधि, मिनिरल वाटर, घरेलु सामानको विदेश निर्यात गर्न र विदेशबाट आयात हुने सामानको कार्गो व्यवस्थापन गर्ने, मिलाउने एजेण्ट र पार्टीको समेत अभाव रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै भैरहवा तथा यस क्षेत्रबाट श्रम तथा रोजगार कार्यालयले व्यक्तिगत श्रम स्वीकृति, अभिमुखीकरण तालीम प्रदायक संस्थाको छनोट, बीमा, स्वास्थ्य तथा म्यानपावर संस्थाको व्यवस्था, भिसा सेन्टर र श्रम स्वीकृतिका सबै काम हुन नसक्दा समेत यात्रु र एयरलाइन्स आकर्षित गर्न नसकिएको प्राधिकरणले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस