ओखर र फलफूल खेती सुधार्न एडिबीले ९ अर्ब लगानी गर्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ओखर र फलफूल खेती सुधार्न एडिबीले ९ अर्ब लगानी गर्ने


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । एशियाली विकास बैङ्क (एडिबी) ले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधार गर्न लगानी गर्ने भएको छ। यसका लागि नेपाल र एडिबीबीच सोमबार सम्झौता भएको छ।

अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडिबीका नेपाल निर्देशक अर्नौड काउक्विइसबीच पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार एडिबीले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

परियोजनाका लागि एडिबीले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपालले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ।

ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन्। खराब मौसम पनि सहन सक्ने ओखर र फलफूलका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाउने सहमति भएको छ।

हस्ताक्षर कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्करले विगतदेखि निरन्तर रूपमा एडिबीले सहयोग गर्दै आएको सम्झँदै अझै सहयोगको अपेक्षा राखेको बताए। उनले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधारका लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्‍याएर छिटै काम शुरु गर्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस