काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्।
गोरखामा आयोजित गठबन्धन दलहरूको चुनावी जनभेलालाई सम्बोधन गर्दै प्रचण्डले ओली अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाए।
उनले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरू थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरू अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’
उनले कम्युनिस्टलाई एकबद्ध गरेर जाँदा आफूहरूले प्रधानमन्त्री र नेताको रूपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए। ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो सङ्घर्ष परेपछि परास्त गर्न सफल भएको दाबी गरे।
लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको उनले बताए। प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरूसँग छ।’
उनले आगामी निर्वाचन अग्रगमन र पश्चगमनको बीचको लडाइँ भएको समेत बताए।